हेटाैंडा- हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएपछि हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको हो । सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी सरकारी गुणस्तरको मान्यता प्राप्त भएको जानकारी दिइएको हो ।उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यमी बनेका महिलाहरुले व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन गरेका हुन् । उद्योगले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा विक्रीका लागि बाटो खुलेको छ । करिब ४ महिना लामो परीक्षण र निगरानी पश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
-------------- बिज्ञापन ---------------
उपमहानगरपालिकाको १ लाख रुपैयाँ बजेटबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृती पाएकोमा उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले खुसी व्यक्त गरिन् । ‘गुन्द्रुक सबैलाई मन पर्ने तर उत्पादन भने खासै कसैले नगर्ने अवस्थामा घरायसी काममा बसेको हामीलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्थासम्म आएका छौं’, गुरुङले भनिन्, ‘नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाएर गुन्द्रुकको उत्पादनमा लागेको हौं ।’ अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएको अवस्थाको अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरिन् ।
अहिले पनि करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक स्टक रहेको बताइएको छ । अब बजारीकरणमा सबैको साथ आवश्यक रहेको उनीहरुको अपेक्षा छ । समूहमा रहेर १२ जनाले काम गरिरहेका छन् । असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उद्योग शाखाको तथ्याङ्क अनुसार उपमहानगरले ८०० जना भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएकोमा अहिले २६८ जना उद्यममा जोडिएका छन् ।