दलितको अधिकारका विषय सरकारको समेत प्राथमिकतामा नपरेको दलित अगुवाहरुले दुखेसो गरेका छन् । दलित महिला संघ फेडोको आयोजनामा बिहीबारबाट हेटौंडामा भएको दलित महिलाको सशक्तिकरण र समावेशीकरणको सवाल विषयक प्रदेशस्तरीय कार्यक्रमका सहभागी दलित अगुवाले दलित अधिकारका विषय तीनै तहको सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका हुन् ।
-------------- बिज्ञापन ---------------
फेडोका संस्थापक अध्यक्ष दुर्गा सोबले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एकजना पनि दलित मन्त्री नभएको र ११० सदस्यीय बागमती प्रदेशसभामा २ जना मात्र दलित सांसद् रहेको तर्क प्रश्तुत गर्दै यसले दलित अधिकारका विषय सरकारको प्राथमिकतामा नरहेको प्रष्ट भएको बताइन् ।
‘नेपालको कुल जनसंख्याको १४ प्रतिशत दलित छन् । तर संघीय सरकारमा दलित समुदायबाट एकजना पनि मन्त्री छैन । बागमती प्रदेशमा जम्मा २ जना सांसद् मात्रै दलित समुदायका रहेका छन्, प्रदेश सरकारमा पनि मन्त्री बनाइएको छैन । यसबाट राज्यले दलित समुदायलाई हेर्ने नजर छर्लङ्ग बुझ्न सकिन्छ’, सोबले भनिन्, ‘प्रत्यक्ष चुनाव उठ्छु भन्दा समेत एक त टिकट नै दिइँदैन, टिकट दिइहाले पनि हामीलाई चुनाव जित्न निकै गारो छ ।’
दलितको कार्यक्रम राजनीतिक दलको प्राथमिकतामा समेत नपरेको उनले गुनासो गरिन् । कार्यक्रममा सहभागी अतिथिहरुले प्राप्त उपलब्धीको रक्षा गर्दै अधिकार प्राप्तीका लागि अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले नकारात्मक कुराले मात्र अभियान सफल नहुने भन्दै अधिकार प्राप्तीका लागि एकढिक्का भएर अघि बढ्न दलित समुदायलाई अनुरोध गरे ।
उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले तीनै तहको सरकारले दलित अधिकारको विषयमा योजनाबद्ध काम गर्न जरुरी रहेको औंल्याए । दलितको स्तर उकास्न उद्दमशिलताको विकास र आर्थिक सशक्तीकरणमा काम गर्नुपर्ने उनको सुझाव थियो । प्रदेशका वन तथा वातावरण मन्त्री केशव पोख्रेलले दलित शब्दलाई बिर्सेर सबै आम मानिस हो भन्ने बुझ्नुपर्ने धारणा राखे । दलितसहित पछाडी पारिएका सबै क्षेत्रका अधिकारको जिम्मा राजनीति गर्नेहरुले लिनुपर्ने उनको भनाई थियो ।
दलित महिला संघ फेडोका प्रदेश अध्यक्ष कल्पना विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, राष्ट्रिय मानव अधिकार आयोगका रिवा रेग्मी, फेडोका जिल्ला सदस्य राधिका शिलवाल लगायतले दलित अधिकारका विषय र सरोकारवालाको भूमिकाको विषयमा धारणा राखेका थिए ।