अमेरिकन डलर साट्ने वाहनामा ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षका डिलबहादुर भण्डारी रहेका छन् ।
-------------- बिज्ञापन ---------------
उनले रौतहटको गुजरा नगरपालिका २ घर भई हाल: चितवनको भरतपुर महानगरपालिका १० नारायणघाट बस्ने ३८ वर्षका खेमराज पौडेललाई अमेरिकन डलर देखाएर ठगी गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
भन्डारीले आफूसंग ४१ हजार ५० रुपैयाँ अमेरिकन डलर रहेकोले नेपाली रुपैयाँमा साट्नु पर्यो भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए । भन्डारीले पौडेललाई हेटौंडा १२ स्थित पुलमा बोलाएको खवर प्राप्त गरेपछि गएको प्रहरी टोलीले उनलाई पक्रेको हो ।
भण्डारीलाई खानतलासी गर्दा उनको साथबाट अमेरिकन डलर ५० को ९ थान, नेपाली २० को ५८० थान, मोबाईल ४ थान र बागमती प्रदेश ०२-०४९ प ३१२५ नम्बरको मोटरसाइकल नियन्त्रण लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई ठगी उद्योग कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरीले बताएको छ ।