मकवानपुरको मनहरी गाउँपालिकाका ५ जना एकल महिलालाई घर हस्तान्तरण गरिएको छ । निवासको सहयोगमा टुकी फाउण्डेसनले निर्माण गरेको घर बिहीबार एक कार्यक्रमकाबीच सम्बन्धित एकल महिलालाई हस्तान्तरण गरिएको हो ।
-------------- बिज्ञापन ---------------
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र टुकी फाउण्डेसनका पदाधिकारीले महिलाहरुलाई घरको चावी हस्तान्तरण गरेका हुन् । मनहरी ४ की कुमारी प्रजा, मनहरी ६ की प्रविना प्रजा र जातिमाया प्रजा, मनहरी ८ की सुनिता प्रजा र मनहरी ९ की राममाया सुनारको लागि घर हस्तान्तरण गरिएको हो । पाँचैजनालाई दुईकोठे घर र शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको टुकी फाउण्डेसनका अध्यक्ष सावित्री रजालीले जानकारी दिइन् ।
घर प्राप्त गरेपछि एकल महिलाले खुसी व्यक्त गरेका छन् । मनहरी ४ की कुमारी प्रजा श्रीमानको रेविजबाट मृत्यु भएपछि एक्लै रहँदै आएकी थिइन् । ‘४ जना छोराछोरी लिएर पुरानो घरमा बस्दै आएको थिएँ । संस्थाबाट आएर घर बनाइदिनुभयो । निकै खुसी लागेको छ’, उनले भनिन्, छोराछोरीलाई कसरी पढाउने हुर्काउने भन्ने चिन्ता रहेको छ ।’ घर प्राप्त गरेका अन्य एकल महिलाले पनि कुमारीले जस्तै गुनासो गरेका छन् ।
प्रदेश सांसद् बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा विपन्न र गरिबको बसोबास रहेको स्मरण गर्दै राज्यले नै योजनाबद्ध काम गर्नु आवश्यक रहेको बताए । ‘मनहरी गाउँपालिकाले पनि विपन्नका लागि शिक्षा र स्वास्थ्य निशुल्क दिने गरी काम गरिरहेको छ ।यसमा प्रदेश सरकारलाई झक्झक्याउने काम गर्नेछु’, बानियाँले भने, ‘राज्यले गनुपर्ने काम गैरसरकारी संस्थाले गरेकोमा धन्यवाद दिन चाहन्छु ।’ उनले आगामी दिनमा पनि विपन्न तथा एकल महिलाहरुको लागि योजना ल्याउन गैरसरकारी संस्थालाई अनुरोध गरे ।
मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले घर नभएका एकल महिलालाई घर बनाउने काममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राख्दै उनले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा योजनाबद्ध काम गरिरहेको जानकारी दिए । घर हस्तान्तरणमा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, ८ नम्बर वडा अध्यक्ष नारन उप्रेती, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सिताराम अर्याल, नेपाली कांग्रेस मनहरी सभापति प्रकाश बर्ताैला, महासमिति सदस्य राजेश भेटवाल, महासमिति सदस्य जनक उप्रेती, नेता रघुनाथ खतिवडा, टुकी फाउण्डेसनका कार्यकारी निर्देशक शिला सेन लगायत उपस्थित थिए ।