मकवानपुरको मकवानपुरगढी गाउँपालिका अध्यक्षको घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको घर जलेर नष्ट भएको हो । गाउँपालिकाको वडा नम्बर ३ स्थित धमिलेमा रहेको अध्यक्ष स्याङ्तानको काठ र माटोले बनेको दुइतले घरमा लागलागी भएको हो । आगलागीबाट घरको पहिलो तला र बुइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-------------- बिज्ञापन ---------------
घरको भुइँतलामा भने आगलागीबाट आंशिक क्षति पुगेको छ । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घरमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाबाट गएकोे दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब २ घण्टा पछि निभाइएको थियो । दिउँसोको समयमा घरमा आगो लागेको र घरमा कोही नभएकोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विधुत सर्ट हुँदा आगालागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।