हेटैंडाः नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित ४०० केभीको नेपालको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् ।
-------------- बिज्ञापन ---------------
हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठुल्ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको दाबी गरे । आगामी एक डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहेको दाबी गरे ।
निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको ४०० केभी हेटौंडा सबस्टेसन ग्यास इन्सुलेटेड प्रणाली प्रविधिमा आधारित छ । यस्तै, गत शुक्रबारदेखि नै थानाभ¥याङमा २२० र १३२ र ११ केभी क्षमताका सबस्टेसन नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण सम्पन्न गरी चार्ज गरिएको छ ।
जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । उक्त सबस्टेसनहरु मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको हो ।
त्यसैगरी, करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ। हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै सो पूर्वाधार संरचना तयार गरिएको हो । सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रम अन्तर्गत सुरु गरिएको थियो । ३ वटै सबस्टेसनको निर्माण आयोजना अन्तर्गत सम्पन्न भएका छन् ।
डिसेम्बर २०१८ मा हेटौंडा ४०० केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । तीन अर्ब रुपैयाँ अनुमानित लागत रहेको ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो।