मकवानपुर– अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा १० दिन देखि जहाज र हेलिकप्टरले उडान भर्न सकेको छैन । लुक्ला विमानस्थलमा हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले बताउनुभयो ।
सुर्के केही होचो ठाउँ भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाण्डौ ल्याउने गरेका छन् । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताउनुभयो ।
लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाण्डौ फर्कने गरेका छन् । मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले लुक्लामा हवाई उडान अझै केही दिन अवरुद्ध हुने जनाईएको छ ।
-------------- बिज्ञापन ---------------