मकवानपुर- मकवानपुरगढी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट घट्ने भएको छ । आन्तरिक आम्दानीको स्रोतलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसक्दा गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा झण्डै ५ करोड घटेर आउने भएको हो ।
-------------- बिज्ञापन ---------------
गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ५७ करोड ९५ लाख ८० हजार रुपैयाँको बजेट पेश गरेकी हुन् ।
चालु आर्थिक वर्षमा मकवानपुरगढीको ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट रहेको छ । आगामी आर्थिक वर्षको लागि संघीय सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ८२ लाख र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ९६ लाख गरी जम्मा वित्तीय अनुदान १० करोड ७८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ८६ लाख रुपैयाँ गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ६० लाख रुपैयाँ प्राप्त भएको थियो । चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि वित्तीय समानिकरण अनुदान १८ लाख रुपैयाँ बढी प्राप्त भएपनि गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापनमा दीर्घकालिन योजना ल्याउन नसक्दा बजेट खुम्चिने भएको हो ।
संघीय सरकार सशर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, ऊर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कार्यक्रमसहित) २३ करोड ३४ लाख ७५ हजार, प्रदेश सरकार सशर्त चालु अनुदान २ करोड ३५ लाख हुने अनुमान गरिएको छ । पालिकाले व्ययतर्फ कुल बजेटको पुँजीगततर्फ ३० करोड ८ लाख २ हजार १९ रुपैयाँ र चालुतर्फ २७ करोड ८७ लाख ७७ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।