बागमती प्रदेश सरकारबाट सोमबार बाहिरिएको एमालेले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएर सहमतिको सरकार निर्माणमा साथ दिन प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई अनुरोध गरेको हो । मंगलबार एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले विज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकोले राजीनामा दिन अनुरोध गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेललाई यथाशिघ्र राजीनामा गरी सहमतीको सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको गरिएको छ । एमालेले प्रदेश सरकारलाई दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न अनुरोध समेत गरेको छ । ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी नेकपा एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतिको सरकार निर्माणको वातावरण बनाउन क्रियाशिल छौं’, विज्ञप्तिमा भनिएको छ ।
यसैका लागि एमालेबाट बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको शालिकराम जम्कट्टेलको नेतृत्वको सरकारबाट ५ जना मन्त्री फिर्ता हुनुको सातै समर्थन फिर्ता समेत लिइएको नेता थपलियाले बताए । एमालेबाट सहभागी आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।
एमाले सरकारबाट बाहिरिएपनि मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सिको गर्दै विश्वासको मत लिने तयारीमा रहेका छन् । यद्यपी विश्वासको मत लिने समय भने तोकिएको छैन । केन्द्रमा एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएसँगै यसको असर प्रदेश सरकारमा समेत परिरहेको छ । केन्द्रमा भएको भागबण्डा बमोजिम बागमती प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनेछ ।
-------------- बिज्ञापन ---------------