हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ मा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवले उत्कृष्ट कमब्याक सहितको जित हाँसिल गरेको छ ।
-------------- बिज्ञापन ---------------
शुक्रवार गौरीटार रंगशालामा पशुपति युवा क्लव हेटौंडासंग १ गोलले पछि परेको अवस्थामा हाँडीखोलाले २ गोल थप्दै उत्कृष्ट कमब्याक गरेको हो । पहिलो हाफ गोलरहित भएकोमा दोस्रो हाफको तेस्रो मिनेटमा नै पशुपतिका लागि अप्रिल रेग्मीले गोल गरेका हुन् । हाँडीखोलाका डिफेन्डरको तालमेल नमिल्दा उनले गोल गरेका हुन् ।
एक गोलले पछि परेको अवस्थामा आक्रमक खेलेको हाँडीखोलाले ६६ औं मिनेटमा बराबरी गोल फर्काएको हो । हाँडीखोलाका अमृत स्याङ्तानको बाइसाइकल किक गोलमा परिणत भएको थियो । थप आक्रामक खेलेको हाँडीखोलाका लागि ८९ औं मिनेटमा उत्सव खड्काले निर्णायक गोल गरे ।
पशुपतिको एउटा वान भर्सेस वान प्रहारलाई हाँडीखोलाका गोलरक्षक ईश्वर रिजालले उत्कृष्ट वचाउ गरेका थिए । हाँडीखोलाका डिफेन्डर गौरव मोक्तान (उत्तम) खेलको म्यान अफ द म्याच घोषित भए ।
हाँडीखोलासंगको हारसँगै पशुपतिले ७ अंक बटुलेर लिगको अन्त्य गरेको छ । हाँडीखोलाले ५ खेलमा ३ जित र २ बराबरीसहित ११ अंक जोडेको छ । अन्तिम खेलमा हाँडीखोलाले चाइनाक्वाटर क्लवसंग खेल्नेछ ।
यहि समूह घ अन्तर्गत भएको अर्को खेलमा युनाइटेड नाइनले चाइनाक्वाटरलाई १(० ले हराएको छ । खेलको ८२ औं मिनेटमा आशिष घलानले गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । घलान नै खेलको म्यान अफ द म्याच घोषित भए । ५ खेल खेलेको युनाइटेडको १ जित र २ बराबरीसहित ५ अंक भएको छ भने ५ खेल नै खेलेको चाइनाक्वाटरले अहिले सम्म अंक जोड्न सकेको छैन ।
समूह घ अन्तर्गतकै प्रगतिशिल युवा क्लव हेटौंडा १७ र प्रतिभा क्लवबीचको खेल रात परेका कारण स्थगित भएको छ । करिब १४ मिनेट खेल बाँकी रहेको अवस्थामा अँध्यारो भएपछि खेल स्थगित गरिएको हो । खेलमा प्रतिभा १-० अगाडी रहेको छ । स्थगित खेल शनिबार बिहान हुने आयोजकले जानकारी दिएको छ ।
२८ वटा सहभागिता रहेको लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।