मकवानपुरगढी जेसीज र मनहरी ५ नम्बर वडा दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा मनहरी ५ ले मनहरी २ लाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
-------------- बिज्ञापन ---------------
निकै प्रतिस्पर्धात्मक खेलमा ५ ले २ लाई १-० गोलले स्तब्ध बनाएको हो । खेलको २० औं मिनेटमा निरप घलानले गरेको गोल नै ५ नम्बरको जितमा निर्णायक बन्यो । घलान नै खेलको म्यान अफ द म्याच बने । यस्तै दोस्रो खेलमा पदमपोखरी युनाइटेडलाई टाइब्रेकरमा निराश बनाउँदै मकवानपुरगढी जेसीजले सेमिफाइनल भिडन्त पक्का गरेको हो ।
निर्धारित समय गोलरहित बराबरी भएपछि खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो । खेलमा मकवानपुरगढी जेसीज र पदमपोखरी दुवैले गोल गर्ने केही राम्रो मौका पाएपनि गोल गर्न सकेनन् । टाइब्रेकरमा जेसीजको तर्फबाट कुलदिप कार्की, रोशन पहारी, अन्जन बछार, मनिष पौडेल र अस्मित गोङ्बाको प्रहार गोलमा परिणत हुँदा पदमपोखरीका सुशील गोले, सन्जिव स्याङ्तान, सिजन लामाको प्रहार मात्र गोल भएको थियो ।
मैसाङ वाइबाको प्रहारलाई जेसीजका गोलरक्षक अस्मित गोङ्बाले बचाएका थिए । गोङ्बा नै खेलको म्यान अफ द म्याच घोषित भए । जारी प्रतियोगितामा शुक्रबार पहिलो सेमिफाइनल खेल हुनेछ । यहि मंसिर ३ गतेसम्म सन्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँचसय तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।