मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले लागूऔषधको कारण धेरैले अकालमै ज्यान गुमाउन बाध्य रहेको बताएका छन् । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत बिहीबार महेन्द्रज्योति मावि मनहरी ३ मा भएको लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रमको प्रमुख अतिथि रहेका उनले पछिल्लो समय लागूऔषध ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् ।
-------------- बिज्ञापन ---------------
‘मकवानपुर जिल्ला लागूऔषध उत्पादन, सेवन र ओसारपसारमा अग्रस्थानमा रहेको छ’, एसपी खड्काले भने, ‘म आएपछि लागूऔषध नियन्त्रणमा विशेष अभियान सन्चालन गरेको छु । पछिल्लो समय लागूऔषध हाम्रो मुख्य चुनौती बनेको छ । यसकै कारण धेरैले अकालमै ज्यान गुमाइरहेका छन् ।’ लागूऔषध नियन्त्रणका लागि परिवारसहित जनप्रतिनिधिले विशेष अभियान सन्चालन गर्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले लागूऔषध नियन्त्रणका लागि मनहरी गाउँपालिका र वडाले विभिन्न कार्यक्रम सन्चालन गरिरहेको बताए । मनहरी गाउँपालिकामा लागूऔषध प्रयोगकर्ता बढेको पाइएको उनको भनाई थियो । चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम योजनाबद्ध सन्चालन गर्नुपर्ने औंल्याए । उनले प्रहरीले मनहरी गापा क्षेत्रमा विशेष ध्यान दिन अनुरोध गरे ।
जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्रज्योति माविका अध्यक्ष अष्टकुमार बर्तौला, प्रधानाध्यापक गोविन्द चौलागाईं, सल्लाहकार बिदुर थापा, जेसीजका कार्यकारिणी उपाध्यक्ष सुरेश गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बालकृष्ण बिष्टको संयोजकत्वमा भएको हो ।
जेसीज सप्ताह अन्तर्गत शुक्रबार बालजीवन ज्योति मावि मनहरी १ मा वक्तृत्वकला प्रतियोगिता, शनिबार खुला जेसीज दौड प्रतियोगिता हुने जेसीजका महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए । चैनपुर जेसीज मनहरीले जेसीज सप्ताहसंगै खुला फुटबल प्रतियोगिता समेत आयोजना गरिरहेको छ ।