कांग्रेसको निष्कर्ष : माओवादी अस्थिर, प्रचण्ड राजनीतिक बेइमान

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धन तोडेको माओवादी केन्द्रलाई सबभन्दा अविश्वसीय शक्ति, अनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको छ । साथै भावी दिनमा माओवादीसँग सहज सहकार्य नहुने समेत कांग्रेस नेताहरुले बताएका छन् ।

-------------- बिज्ञापन ---------------

प्रधानमन्त्रीले एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेस केन्द्रदेखि प्रदेशमा सरकारबाट बाहिरिएको छ । विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवासमा कार्यसम्पादन समिति बैठक बसेको थियो ।

बैठकले गठबन्धनप्रति प्रतिवद्ध हुँदाहुँदै प्रचण्डले २०७९ पुस र अहिले गरी दुई पटक धोका दिएको निष्कर्ष निकालेको छ । माओवादीले गठबन्धनसँगै निर्वाचनका बेला जनतासमक्ष गरेका वाचा समेत तोड्ने काम गरेको कांग्रेसले बताएको छ ।

‘निर्वाचनमार्फत मतदाताले दिएको म्याण्डेटप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेटलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ (प्रचण्ड) अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहनसक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ ।’

बैठकले प्रचण्ड सरकारलाई २६ पुस २०७९ मा दिएको दिएको समर्थन फिर्ता लिएको छ ।

बैठकमा नेताहरुले गठबन्धन टुट्नुमा कांग्रेसको भूमिका नरहेको बताएका छन् । गठबन्धन ताड्नुको कारण भनेर माओवादीले देखाएको कोशी प्रदेश प्रकरण, मन्त्री हेरफेर गर्न नदिएको, महासमितिमा पेश भएको प्रतिवेदन बहाना मात्र भएको नेताहरुले बताए ।

‘माओवादीले गठबन्धन तोड्न पर्नुका जति कारण भनेको छ, सबै बहाना हुन्’ बैठकमा उठेका विषयबारे महामन्त्री गगन थापाले भने, ‘आज नभए भोलि कुनै न कुनै बेला प्रचण्डले धोका दिन्थे भन्ने मत आएको छ ।’

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको बाक्लो भेटघाटमा आफूहरुले प्रश्न गर्दा प्रचण्डले ढाँटेको सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले सुनाए । प्रचण्डले नयाँ गठबन्धन बनाउन लागेको सुइँको पाएर पटक पटक भेटेर कुरा गरेको बैठकमा उपसभापति खड्काले सुनाएका थिए ।

प्रत्येक भेटमा प्रचण्डले आश्वस्त पारेको भन्दै देउवाले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तलमाथि नहुने भन्नुभयो, हामीले पत्यायौं । तर प्रचण्डले ढाँटेका रहेछन् ।’

पछिल्लो समय आइतबार विहान पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट भएको थियो । त्यसैदिन प्रधानमन्त्री प्रचण्डसँग भेट्न रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । ‘उनीहरुलाई भेट्दा हामीलाई थप सूचना आए । प्रधानमन्त्रीलाई गठबन्धन केही हुन लागेको हो र भनि सोध्यौं । उनले टीआरसीको विषय भनेर ढाँटे,’ बैठकमा सभापति देउवा र खड्काको भनाइ थियो ।

गठबन्धन भत्किनुको कारणबारे समीक्षा गर्दै कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक इमान्दारिता नभएको व्यक्तका रुपमा चित्रण गरेको छ । ‘प्रचण्ड धोकवाज मात्रै होइनन्, राजनीतिक बेइमान पनि हुन् भन्ने बैठकको सार रह्यो,’ कांग्रेसका नेता भन्छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार कतिपयले नयाँ गठबन्धन धेरै नटिक्ने विश्लेषण गरेका थिए । तर कांग्रेस सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने अर्जुननरसिंह केसी बताउँछन् । उनले भने, ‘प्रतिपक्षमा बस्छौं, जनसरोकारका विषय संसददेखि सडकसम्म प्रभावकारी रुपले उठाउँछौं’ केसीले भने ।

स्रोत : Online Khabar

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै