आज जिल्ला बचत तथा ऋण सहकारी संघको भवनको उद्घाटन गरिएको छ । संघको २० औँ स्थापना दिवसको अवसर पारेर विहीबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले समुद्घाटन गरेका हुन् ।
-------------- बिज्ञापन ---------------
संघको हेटौंडा–२ स्थित अण्डरग्राउड पार्किङ सहितको भवन निर्माण गरिएको छ । ३४ धुर क्षेत्रफलको जग्गामा २९ सय स्क्वाएर फिटमा निर्माण गरिएको घर साढे २ करोड खर्च रहेको बताइएको छ । अझै भवन निर्माण सम्पन्न नभएको र सम्पन्न गर्न करिब साढे तीन करोड खर्च हुने अनुमान गरिएको छ।
अब बचत तथा ऋण सहकारी संस्थाहरुको साझा छाता संगठनको रुपमा रहेको संघले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने छ ।
संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सदस्यहरु बद्रीप्रसाद लम्साल, टेकप्रसाद चौलागाई, सुमन नेपाल, प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, राष्ट्रिय वीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।