मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५८ औं वार्षिक साधारणसभा आजबाट सुरु भएको छ । संघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्योग क्षेत्र फस्टाएमा मात्र मुलुकमा रोजगारीको अवस्था सृजना हुनसक्ने भन्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको औंल्याए ।
-------------- बिज्ञापन ---------------
‘अझै उद्योग र यससँग सम्बन्धित धेरै ऐन कानुन बनाउन आवश्यक छ । उद्योगी व्यवसायीको हकहितमा के कस्ता कानुन बनाउनुपर्ने हो सल्लाह गरौं, हामी सल्लाह सुझावलाई मननन् गर्दै अघि बढ्न तयार छौं’, उनले भने ।
नेपाल भन्दा कमजोर मुलुकले विकासमा फड्को मारिसकेको उदाहरण दिँदै उनले यहाँ उत्पादन भएको भन्दा बाहिरबाट ल्याएको सामान सस्तो हुने अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिए । उत्पादनमुलक उद्योगलाई राज्यले समेत सहयोग गर्नुपर्ने मुख्यमन्त्री लामाको भनाई थियो । ‘प्रदेशमा लगानीमैत्री वातावरण बनाउन लागिपरेका छौं । लगानी प्राधिकरण बनाएर लगानी भित्राउने योजनामा छौं’, उनले थपे, ‘लगानी सुरक्षित हुने अवस्था भए मात्रै लगानीको वातावरण बन्छ ।’ नेतालाई गाली गरेर मात्र मुलुकको विकास नहुने उनको तर्क थियो ।
प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले मकवानपुरको विकासका लागि हेटौंडा कुलेखानी सुरुङमार्ग बन्न जरुरी रहेको धारणा राखे । कोरोना भन्दा कडा भाइरसको रुपमा सहकारीको रकम हिनामिना भाइरस आएको भन्दै उनले यस्तो भ्रष्टाचारमा संलग्न जो कोही भएपनि कारबाही हुनुपर्ने माग गरे ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बर्तौला, राजन केसी, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि प्रशासन मन्त्री सुकुमाया तामाङ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, पत्रकार ऋषि धमला, नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, मउवा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल लगायतले उद्योगी व्यवसायीको अवस्था, समस्या, समाधानका उपाय लगायतका विषयमा धारणा राखेका थिए ।
२७ गतेसम्म चल्ने संघको साधारणसभा तथा निर्वाचनले ३ वर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
