हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
-------------- बिज्ञापन ---------------
वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत् यही माघ ११ र १२ गते उक्त प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष फूर्वा दोर्जे तामाङ्गले स्थानीय उत्पादन वस्तुहरुलाई प्रर्बद्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
टोल विकास संस्था, नगर समन्वयन समिति, वडा समन्वयन समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पा देवि उद्यमि महिला केन्द्र, स्थानीय क्लब, राजनीति दल लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा कार्यक्रम हुन लागेको वडाध्यक्ष तामाङ्गले बताएका छ।
प्रदर्शनीमा हेटौंडा नगरका १९ वटै वडा भरीका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानहरुको प्रदर्शनी तथा बिक्रीण–वितरण गरिने वडाध्यक्ष तामाङ्गले बताए ।
उनका अनुसार, दुई दिनसम्म संचालन हुने प्रदशनी कार्यक्रममा १०० वटा स्टलहरु राखिने छन् । व्यवसायीहरुलाई स्टल निःशुल्क उपलब्ध गराइनेछ ।
साथै कार्यक्रममा स्थानीय जातजातिको भेषभुषा र सँस्कृतिलाई संरक्षण गर्ने उदेश्यले कला,सँस्कृति झल्किने नृत्य प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।
नृत्य प्रतियोगितामा नगरका १९ वटै वडाका ईच्छुक कलाकारहरुले सहभागिता जनाउन पाउने र नृत्यमा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ५०, ३५ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।