जनआन्दोलनका सहिद बासुदेव घिमिरेको परिवारलाई सहिद दिवसको अवसरपारेर सम्मान गर्दै रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । बुधबार मकवानपुरगढी गाउँपालिका ५ स्थित सहिद घिमिरेको परिवारलाई रेडियोले नगदसहित सम्मान गरेको हो ।
-------------- बिज्ञापन ---------------
१५ वर्षअघि सहिद दिवसकै दिनबाट आफ्नो प्रशारण यात्रा आरम्भ गरेको रेडियोले बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यसअघि सहिदको विषयमा कविता, वक्तृत्वकला लगायतका प्रतियोगिता गर्दै आएकोमा यस वर्ष सहिदको परिवारलाई नगदसहित सम्मान गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले बताए ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष दाहालले केही महिनाभित्रै वडा कार्यालय अगाडी घिमिरेको शालिक बनाउने बताए ।
कार्यक्रममा मकवानपुरगढी ६ नम्बर वडा अध्यक्ष कृष्ण बजगाइँ, सहिद घिमिरेका पिता कृष्णप्रसाद, स्थानीय समाजसेवी बेदनाथ हुमागाइँ इन्द्रबहादुर बस्नेत लगायतको आतिथ्यता थियो ।