मनहरी गाउँपालिका ९ नम्बर वडाको रजैयामा निर्माण भैरहेको तटबन्धन र पार्किङ क्षेत्रको विषयमा अनावश्यक भ्रम फैलाउन खोजिएपछि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठले स्थानीयसँग निर्माणस्थलमै छलफल गरेका छन् ।
-------------- बिज्ञापन ---------------
काम भैरहेको स्थानमै रजैयाका सर्वसाधारणलाई बोलाएर उनीहरुले स्थानीयको धारणा लिनुका साथै सामाजिक सञ्जालमा आइरहेको विषयको जवाफ दिएका हुन् ।
रजैया बस्ती बचाउ अभियान अन्तर्गत चोकदेखिको खोला किनारमा तटबन्धन र बिग बोल्डर (ठूल्ठूला ढुंगा) राख्ने काम भैरहेको छ । यसै विषयलाई लिएर केहीले सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्षको मेसिन र टिपर प्रयोग गर्नका लागि योजना हालेको भन्दै विरोध जनाएपछि पालिका अध्यक्ष र वडा अध्यक्षले रजैयाबासीसँग छलफल गरेका हुन् ।
कार्यक्रममा ९ नम्बर वडा सदस्य पर्वदेव अधिकारीले मिडियालाई गलत सूचना दिने र सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्नेहरुका कारण काम गर्न असहज भएको बताए । वडा अध्यक्ष राजकुमार श्रेष्ठले स्टमेटमा उल्लेख भन्दा बढी काम भएको दावी गर्दै गाउँपालिका अध्यक्षको मेसिन र टिपर चलाउनका लागि योजना नहालिएको प्रष्ट पारे ।
’ गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले टहरा हटाएको स्थानमा पार्किङ क्षेत्र र रजैयालाई जोगाउन तटबन्धनका लागि कार्यपालिका बैठकले निर्णय गरेर बजेट विनियोजन गरिएको बताए । समितिले हुलियतमा माटो फिलिङको काम गरिदिन अनुरोध गरेपछि मेसिन पठाएको जानकारी दिँदै उनले अरुले भन्दा निकै कम रकममा काम भएको दावी गरे । गाउँपालिका अध्यक्षको मेसिन प्रयोग गरेवापत बचेको रकमबाट समितिले बोल्डर हाल्ने काम गरिरहेको निर्माण समितिका अध्यक्ष राजकुमार विश्वकर्माले बताए ।
यसबाट रजैया बस्ती नै बच्ने उनको दावी छ । बिग बोल्डर हाल्ने काम स्टमेटमा नभएपनि बचेको रकमले बस्ती बचाउन यसो गरिएको उनले बताए ।
तटबन्धनबाट करिब एकहजार घरधुरी लाभान्वित हुनेछन् ।