भारतको जम्मू र कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीचको कूटनीतिक सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ।
-------------- बिज्ञापन ---------------
भारतको मन्त्रिपरिषद्को सुरक्षा मामिला समितिको आपतकालीन बैठकले पाकिस्तानमाथि आक्रमणको जिम्मेवारी लगाउँदै प्रतिशोधात्मक कदम चाल्न थालेको छ। भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता तत्काल स्थगित गरेको छ र वाघा–अटारी नाका बन्द गरेको छ। साथै, पाकिस्तानका कूटनीतिक कर्मचारीलाई निष्कासन गर्दै पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ।
पाकिस्तानले भने कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै भारतको आरोप अस्वीकार गरेको छ। पाकिस्तानले भारतको कदमलाई द्विपक्षीय सम्झौतासँग मेल नखाने र अन्तर्राष्ट्रिय कानूनी दायरामा नपर्ने बताएको छ।