-------------- बिज्ञापन ---------------
काठमाडौँ मखन गल्लीमा मंगलबार बिहान भीषण आगलागी भएको छ। सुरज आर्केड पछाडि रहेको स्थानीय दयाराम श्रेष्ठको कच्ची घरमा ग्यास लिक भएपछि आगलागी भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार आगलागी बिहान करिब ६ः५० बजे सुरु भएको थियो। माटो र काठ प्रयोग गरी निर्माण गरिएको चार तले घरको तेस्रो तलाबाट सुरु भएको आगो छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत फैलिएको हो।
आगलागीका कारण एक जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो। मृतकको सनाखत अझै भइसकेको छैन।
दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।