हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेको नमुना टोलमा खाना पकाउने क्रममा झुक्किएर डिजेल प्रयोग गर्दा भान्सामा आगलागी भएको छ। घटनामा परी एक किशोरी गम्भीर घाइते भएकी छन् भने अर्की महिला सामान्य घाइते भएकी छन्।
-------------- बिज्ञापन ---------------
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार साँझ बच्चा देवानको घरमा डेरा गरी बसिरहेकी वीरगञ्ज महानगरपालिका–३० की १३ वर्षीया असिया खातुनले मासु पकाउने क्रममा झुक्किएर कराईमा खानेतेलको सट्टा डिजेल हालेकी थिइन्। डिजेल हाल्नेबित्तिकै भान्सामा आगो सल्किएको थियो।
घटनामा असिया खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा गम्भीर चोट लागेको छ। उनीसँगै भारतको बिहार राज्य, मोतिहारी जिल्लास्थित आदापुर ग्राम निवासी २५ वर्षीया अफ्रिदा खातुन पनि सामान्य रूपमा घाइते भएकी छन्। अफ्रिदाको बायाँ कान, गाला र हात जलेको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।