हेटौंडा— बागमती प्रदेशको राजधानी हेटौंडामा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारमा सरोकारवालाहरूको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
-------------- बिज्ञापन ---------------
कार्यक्रम इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षता र बागमती प्रदेशका पूर्व खानेपानी तथा सिँचाइ मन्त्री तथा वर्तमान सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानको रुपमा उल्लेख गरे । यद्यपि संविधान बने पनि कार्यान्वयनमा अपेक्षित सक्रियता नदेखिएको भन्दै उनले सरोकारवालाहरूको चासो, जिज्ञासा र दबाब आवश्यक रहेको बताए । साथै, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सुनिश्चितताका लागि सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जनताको वास्तविक समस्या उजागर गर्न आग्रह गरे ।
कार्यक्रममा मानव अधिकार आयोगका अधिकृत कृष्ण मिश्रले प्रस्तुति दिएका थिए । कार्यक्रममा गैरसरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाई लगायत अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।