चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी गाउँपालिका ४ मसिने गोलघरमा जारी तेस्रो ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’मा कमाने फुटबल एकेडेमी र पटिहानी इभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
-------------- बिज्ञापन ---------------
शुक्रबार भएको पहिलो खेलमा कमानेले बागमती प्रदेश प्रहरीलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो ।
खेलमा कमानेको सन्देश देउलाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बागमती प्रदेश प्रहरीका निर्मल राना मगरले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । टाइब्रेकरमा कमानेका सुहान तामाङ
सुरज तामाङ, प्रनित खत्री र अनिष थिङले गोल गर्दा
प्रदेश प्रहरीको तर्फबाट अस्विन भुजेल, निरय कटुवाल र अशोक बस्नेतले गोल गरेका थिए । निर्मल राना मगरको प्रहार पोष्टमा लागेर फर्किँदा रामकृष्ण राउतको प्रहारलाइ कमानेका किपर अर्विन बज्युले बचाए ।
खेलको म्यान अफ द म्याच कमानेला सुहान तामाङ घोषित भए । दोस्रो खेलमा पटिहानी इभेन्ट्सले लामिटार एफसीलाई ४-१ ले हरायो । पटिहानीका लागि अनिष महर्जनले तेस्रो र १५ मिनेटमा गोल गर्दा सामुयल सुनार र मिलन स्याङ्तानले एक एक गोल गरे ।
लामिटारका धिरज राईले अन्तिम गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ द म्याच पटिहानीका अनिष महर्जन घोषित भए ।
जारी प्रतियोगितामा शनिबार ३ खेल हुनेछ । प्रतियोगिताको विजेताले एकलाख एक हजार एकसय ११ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।