आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ।
-------------- बिज्ञापन ---------------
अघिल्लो संस्करण खुला चौरमा बसेर एनपिएल हेरेका समर्थकले दोस्रो संस्करणको मज्जा भने प्यारापिटमै बसेर लिन पाउनेछन्। यसका अतिरिक्त, त्रिवि क्रिकेट रंगशालमा फ्लड लाइट पनि जडान गरिएको छ। दोस्रो संस्करणका केही खेल फ्लड लाइटमा खेलाइने छ।
सहभागी आठ टोलीहरू पनि प्रतियोगिताका लागि तयार देखिएका छन्। विश्व क्रिकेटका चर्चित प्रशिक्षक-क्रिकेटरको सहभागिताले क्रिकेटप्रेमीको उत्सुकता झन् बढेको छ।
यसबाहेक काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पनि यसपालि ‘कमब्याक’ गर्ने लक्ष्यसहित मैदान ओर्लनेछन्। सबै टोली एक-अर्कासँग एक-एकपटक भिड्नेछन् र त्यहीँबाट तय हुनेछ- ‘प्ले-अफ’ यात्रा।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ तय गरेको छ।
यसपटक प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यसैगरी, उप-विजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन्।