६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन्। राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति–२०८२ को आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा ९ महिला र २५ पुरुषले सहभागिता जनाएका हुन्।
-------------- बिज्ञापन ---------------
कार्यक्रम मूल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटाको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडाका महाशाखा प्रमुख उमेश कुमार दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
रक्तदान कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, कृषि सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सञ्चालक रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख समीर श्रेष्ठ तथा नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाकी प्रमुख ज्योति महतलगायतको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी मकवानपुरको रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहालसहित प्राविधिक टोलीले सहयोग गरेका थिए।
यस वर्ष “उद्यमशीलता र पारदर्शिता स् सहकारीको प्राथमिकता” भन्ने नारासहित सहकारी दिवस मनाइँदै छ। दिवसको अवसरमा चैत १९ गते ‘सहकारी संरक्षण, समृद्धिमा अभियान र नियामकीय भूमिका’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।