हेटौंडा — जिल्ला प्रहरी कार्यालय मकवानपुर ले हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित एक अवैध घरेलु मदिरा उद्योगमा छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ। छापामार कारबाहीका क्रममा उद्योग सञ्चालकसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
-------------- बिज्ञापन ---------------
प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे विशेष सूचनाका आधारमा हेटौंडा–१ चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनेको घरमा सञ्चालन हुँदै आएको अवैध मदिरा उद्योगमा छापा मारिएको हो। खानतलासीका क्रममा करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा ५ हजार लिटर मदिरा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको छ।
त्यसैगरी मदिरा उत्पादनमा प्रयोग हुने ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा प्लास्टिकका ड्रम र बोतलहरू समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट ६० वर्षीय उद्योग सञ्चालक जगतबहादुर घिसिङसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ बस्ने १९ वर्षीय अजय लामा र कालिका नगरपालिका–९ बस्ने ३४ वर्षीय सुरेश प्रजा रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।