हेटाैंडा- छिमेकी जिल्ला बाराको सिमरामा जारी १४ औं संस्करणको जीतपुरसिमरा गोल्डकपमा एन्फा मकवानपुर ११ पहिलो खेलबाटै बाहिरिएको छ । सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लवसँग २–० ले पराजित हुँदै मकवानपुर पहिलो खेलबाटै बाहिरिएको हो । नेपालको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका केही र केही नयाँ खेलाडी लिएर मैदान उत्रेको मकवानपुर एपिएफको सामु निरिह बन्यो । मकवानपुरलाई हराउने क्रममा एपिएफबाट खेल्दै आएका मकवानपुरकै खेलाडी विके तामाङ र प्रदीप लामाले समान एक÷एक गोल गरे । हेटौंडा विरुद्ध सुरुदेखि नै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औं मिनटमा विके तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बललाई नियन्त्रणमा लिँदै हेटौंडाका डिफेण्डर बिट गर्न सफल विकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ १–० ले अघि रहेको एपिएफले दोस्रो हाफमा अर्को गोल थप्यो । ६८ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन् । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए । दोस्रो हाफमा एपिएएफ विरुद्ध केही राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौंडाका उत्कृष्ट प्रहारहरु विफल पारेका थिए ।
-------------- बिज्ञापन ---------------
खेलको म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद र ट्रफी प्राप्त गरे । जितसँगै एपिएफ सेमीफाइनलमा प्रवेश गरको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।