थापाथली बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा आज डोजर चलाइएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाएर अनधिकृत संरचना हटाइएको हो । त्यहाँ बसोबास गर्दै आएका धेरैजसोले हिजो बेलुका नै बस्ती छाडेका थिए । कोहीले आज बिहान सरसामान निकालेका थिए ।
-------------- बिज्ञापन ---------------
बिहान बस्तीमा डोजर चल्दा कुनै अवरोध भएन । कतिपय अहिले पनि सडक छेउमा यत्रतत्र समान राखेर अलपत्र अवस्थामा छन् । बाँस र जस्तापाताबाट बनाइएका घर टहरा भत्काइएको छ । बास नभएका केहीलाई अब कहाँ जाने अन्योल छ ।
अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका ‘वास्तविक’ सुकुम्वासीलाई पहिचान गरी तत्कालका लागि ५ वटा विभिन्न ठाउँमा पुनर्स्थापना गर्ने सरकारको तयारी छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो ।
त्यस अघि त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला लगिनेछ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुकुम्वासी बस्तीबाट हटाइएकालाई पहिला रङ्गशाला लगिने र पहिचान गरी भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने जनाएको छ ।