हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्गमा भएको ट्रक दुर्घटनामा एक सहचालकको मृत्यु भएको छ।
-------------- बिज्ञापन ---------------
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, विरुवागुठी निवासी २३ वर्षीय फुलकान्त थारुको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
प्रहरीका अनुसार ना.७ ख ७०१८ नम्बरको लहरी ट्रक थानाभर्याङमा रोकेर राखिएको अवस्थामा सहचालक थारु अगाडिको सिसा सफा गरिरहेका थिए। सोही क्रममा चालकले ट्रक अगाडि बढाउँदा सडक छेउमा रोकेर राखिएको ना.६ ख ४२८९ नम्बरको अर्को ट्रकसँग ठोक्किँदा उनी च्यापिएका थिए।
गम्भीर घाइते भएका थारुलाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो। भरतपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले लहरी ट्रकका चालक पर्साको ठोरी गाउँपालिका–१ का ३२ वर्षीय एकराज तिमिल्सेना तथा अर्का चालक उदयपुरका २९ वर्षीय भविस तामाङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।