हेटाैंडा- मकवानपुरको मनहरी गाउँपालिकाको केन्द्र रजैयामा पछिल्लो समय जनघनत्व बढ्दो क्रममा रहेको छ । अन्यत्रबाट बसाइँ सरेर यहाँ आउने क्रम समेत बढिरहेको छ । राप्ती खोलाको कटानको जोखिममा रहेको रजैया बस्तीलाई जोगाउनुका साथै जनघनत्व अनुसारको सडक आवश्यकतालाई महसुस गर्दै बाइपास सडक निर्माण कार्य थालिएको छ । ९ नम्बर वडाको रजैया चोकदेखि राप्ती किनार–अग्नी होत्राश्रम हुँदै मनकामना क्रसरबाट राजमार्ग निकाल्ने गरी बस्तीलाई घेरेर बाइपास निर्माण कार्य थालनी गरिएको हो । खोलाको किनारै किनार ट्रयाक बनाउने र त्यसमा माटोले पुर्ने कार्य भैरहेको छ । स्थानीय वन समिति, मनहरी गाउँपालिका र क्रसर व्यवसायी लगायतको सहयोगमा सुरु भएको बाइपास सडक निर्माण कार्यलाई मनहरी ९ नम्बर वडाले प्राथमिकताका साथ काम गरिरहेको छ । रजैयाको बढ्दो जनघनत्व अनुसार भित्री सडक साँघुरो भएको र खोलाको किनारै किनार सडक निर्माण गर्दा बस्ती समेत जोगाउन सकिने भएकोले बाइपास निर्माण अभियानलाई तीव्रता दिइएको ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । ‘गाउँमा घर बढेपनि बाटोको आकार बढ्दैन । मनहरीको ५ नम्बर वडाबासीले समेत प्रयोग गर्ने बाटोको विकल्पको रुपमा बाइपास सडक निर्माण अभियानलाई तीव्रता दिएका हौं । बाइपासको कारण रजैया बस्ती समेत राप्तीको कटानबाट जोगाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘केही वर्ष अघिदेखि सुरु भएको बाइपास सडक निर्माणका लागि हालसम्म करिब एक करोड रुपैयाँ खर्च भैसकेको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अघि बढाएका छौं ।’ बाइपास सडक निर्माणका लागि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र वडा अध्यक्ष राजकुमार श्रेष्ठ बजेटको माग गर्दै केन्द्र र प्रदेश सरकार धाइरहेका छन् । मनहरी ९ का वडा सदस्य पर्वदेव अधिकारी स्थानीय वन समितिको अध्यक्ष हुँदाको समयमा बाइपास सडक निर्माण कार्य सुरु भएको थियो । यसका लागि व्यवसायी मछिन्द्र वर्तौलासहित विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले स्मरण गरे । बाइपास सडक निर्माण हुँदा राप्ती खोलाको कटान रोकिनुका साथै बाटो विस्तार समेत हुने स्थानीय प्रसुज मैनालीले बताए । ‘रजैयाबाट दर्दरा जोड्ने पक्की पुल पनि निर्माण भैरहेकोले बाइपास निर्माण हुँदा थप सहज हुनेछ’, उनले भने ।
-------------- बिज्ञापन ---------------
बाइपास सडकको आश्रम छेउम्म माटो हालिएको छ । ‘यस वर्ष वडाले सिलिङ बजेटबाट १० लाख विनियोजना गरेका थियौं । गाउँपालिका अध्यक्षबाट ८ लाख बजेट आएको थियो’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘वर्षा सुरु हुन लागेकोले बाइपासमा हालिएको माटो बगाउला भन्ने चिन्ता छ । खोलाबाट जाली लगाउन सकियो भने हाम्रो अभियानले केही हदसम्म सार्थकता पाउने थियो । यसका लागि प्रदेश र केन्द्र सरकारको विभिन्न निकायसँग पहल गरिरहेका छौं ।’ सरकारी निकायबाट सहयोगको प्रतिबद्धता प्राप्त भैरहेको उनले बताए