मकवानपुर- हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले पत्रकारिता क्षेत्रमा रहेको विकृतिलाई हटाउनुपर्ने सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले शुक्रबार आयोजना गरेको सञ्चार क्षेत्रको वर्तमान सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका बानियाँले पत्रकारिता क्षेत्रमा विकृति थपिँदो क्रममा रहेकोले यसलाई सबै मिलेर हटाउनुपर्ने सुझाव दिए ।
-------------- बिज्ञापन ---------------
पत्रकार महासंघको संस्थागत हित एवम् विकासका लागि हेटौंडा उपमहानगरपालिका सदैव सहकार्यका लागि तयार रहेको उनको भनाई थियो । पत्रकार सरकारको प्रतिपक्षको रुपमा रहनुपर्ने भन्दै उनले विचार फरक भएपनि पेशाप्रति ईमान्दार भएमात्र निष्पक्ष पत्रकारिता हुनेमा जोड दिए । मकवानपुरका सञ्चार माध्यमका लागि समानुपातिक विज्ञापन प्रणालीलाई सुरुवात गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खडका, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नानीमायाँ कार्की सम्झना, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतले वर्तमान सन्दर्भमा संचार क्षेत्रको सम्भावना र चुनौतीको विषयमा धारणा राखेका थिए । कार्यक्रममा पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।