पानी नपरेका कारण सर्वसाधारणको जनजीवन कष्टकर भएको भन्दै हेटौंडामा एक जोडी भ्यागुताको विवाह गराइएको छ । पानी पर्छ भन्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका १६ मा स्थानीयले वडा अध्यक्षसहितको उपस्थितीमा भ्यागुताको विवाह गराएका हुन्।
-------------- बिज्ञापन ---------------
आकाशबाट पानी परोस् भन्ने कामनासहित बुधबार बिहान पुरोहितसहितको उपस्थितिमा बाजागाजा एवम् नाचगानसहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराइएको हो ।
इन्द्र भगवाको पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर सिंगार्दै बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको हो । पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले पुष्टि गरे । ‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने, ‘पहिले ‘पहिले भ्यागुताको विवाह गर्यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोही अनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’
भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा १६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो। महिलाको टोलीले पञ्चेबाजा बजाउनुका साथै नाचगान समेत गरेका थिए। भ्यागुताको विवाह गरेपछि अब पानी पर्छ भन्ने स्थानीयको अपेक्षा रहेको छ।