मकवानपुरको राजधानी हेटौंडामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चले संयुक्त बजार अनुगमन सुरु गरिएको हो ।
-------------- बिज्ञापन ---------------
आज भएको बजार अनुगमनमा हेटौंडा–४, पारिजातपथमा रहेको दाजुभाइ फाष्टफुड र पारिजातपथकै वैष्णव होटलमा लापरबाहि भेटिएपछि यि दुबै होटललाई २५÷२५ हजार जरिवाना गराइएको छ ।
दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएको लगायतको कमजोरी फेला पपर्नुको साथै खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । भान्सा सुधार गर्न निर्देशन दिइएको उपमहानगरको उद्योग, पर्यटन, सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको, भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको छ र यस होटलले चितवनबाटै मःम लगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने गरेको खुलेको छ ।
यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ । बजार अनुगमनको हेटौंडा उपमहानगर, आर्थिक विकास महाशाखा अन्तर्गतको उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलको नेतृत्वमा गरिएको थियो ।
‘हामीले अनुगमनको क्रममा मकजोरी भेटिए जरिवाता तिराउँछौं । यसो हुँदा अनुगमनको पनि प्रभावकारिता हुन्छ । यसअघि धेरै पटक सचेत गराउँदा पनि होटल सञ्चालकहरु अटेरी बनिरहेका छन् । उपमहानगरपालिकाले कारबाहीलाई पनि झन बलियो बनाएर जान्छ,’ पौडेलले भने ।
उपभोक्तालाई ढुक्कसँग खाद्यवस्तु उपभोग गर्न सक्ने वातावरण निर्माणको लागि उपमहानगरपालिका लागिपरेको पौडेलले बताए । उनले बजार अनुगमनलाई तीव्रता दिइने पनि बताए ।