माघ २ गते बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा मकवानपुरमा क्रियाशिल संस्था बाल कल्याण समाज मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
-------------- बिज्ञापन ---------------
बालविवाह अन्त्य गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउन लागिरहेको अवस्थामा विवाहको उमेरहद झार्ने विषय आउनु दुखद रहेको संस्थाका अध्यक्ष प्रकाश खतिवडाले बताउनु भयो ।
विभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक परिपक्वता लगायतका दृष्टिकोणले विवाहको उमेर २० कायम गरी नीति नियम र ऐन कानुनहरू तय गरिएको छ । कम उमेरमा विवाह हुँदा छिटो गर्भवती हुने, त्यसो हुदाँ बालबालिकाको मृत्यु हुन सक्ने, गर्भवती आमा र बच्चा दुवैको स्वास्थमा असर पुग्ने जोखिम रहेको छ । त्यसै गरी कम उमेरमा विवाह हुँदा किशोर किशोरी, महिला तथा युवाको स्वास्थ, शिक्षामा समेत प्रत्यक्ष असर गर्दछ । बालविवाहले बालबालिका तथा किशोरकिशोरीलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुने खतिवडाले बताउनुभयो ।
नेपाल सरकार, शिक्षा, स्वास्थ्य र कानून विज्ञहरू, सामाजिक संघसंस्था, विभिन्न राजनीतिक पार्टीका व्यक्तिहरू, जनप्रतिनिधिहरू, नागरिक समाज, बालक्लब, किशोरकिशोरी, युवाक्लब लगायत सम्पूर्ण सरोकारवालाको वृहत छलफलबाट विवाहको उमेर २० पुर्याइएको हो । विवाहको उमेरहद फेरी १८ वर्षमा झार्ने कुरा बाल अधिकारको दृष्टिकोणले गलत हुनुका साथै बालमैत्री, पोषणमैत्री, बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने लगायतका अभियानमा समेत प्रभावपार्न सक्ने भएको हुँदा यस विषयलाई थप बहसको विषय नबनाइ २० वर्षलाई नै कायम गरी कार्यन्वयनका पक्षमा आउनसक्ने समस्याहरूकालागि स्थानीय तह लगायत तिनै तहका सरकार, नागरिक समाज, सम्बधित सरोकारवालाहरू बिच छलफल अगाडि बढ्न बाल कल्याण समाज मकवानपुरका अध्यक्ष खतिवडाले सम्बन्धित सबैमा अपिल गर्नुभएको छ ।
