मकवानपुर, माघ २९ – नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाल किसान महासङ्घको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले सोम तिमल्सिनाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिले यही फागुन ७ गतेभित्र जिल्ला अधिवेशन गर्नुपर्ने छ ।
-------------- बिज्ञापन ---------------
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले किसानले पाउनुपर्ने अनुदान विचौलियाको हातमा पुग्न नहुने धारणा राखेकी छिन् । ‘वास्तविक किसानले अनुदान पाउन सकिरहेका छैनन् । सरकारले प्रदान गर्ने अनुदान कस्ता व्यक्तिले पाइरहेका छन् भन्ने विषयमा कांग्रेस र किसान संघले विशेष चासो दिन जरुरी छ’, डीनाले भनिन्, ‘किसानले पाउनुपर्ने अनुदान बिचौलियाको हातमा नपुगोस् ।’ किसानको काम गर्नका लागि किसान संघ आवश्यक रहेको औंल्याउँदै उनले किसानलाई जागरण ल्याउने काम गर्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले किसान संघ र कांग्रेसलाई नै मजबुत बनाउन सबै एकभएर लाग्नुपर्ने धारणा राखे । स्थानीय र परम्परागत उत्पादनलाइ प्रोत्साहन बढाउन जरुरी रहेको उनको भनाई थियो ।
नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले संघको अधिवेशन नभएको १८ वर्ष भएको जानकारी दिँदै अब महाधिवेशन हुने दावी गरे । नेपाली कांग्रेसलाई जीवन्त बनाइराख्न समयमै भातृ संस्थाहरुको अधिवेशन जरुरी रहेको उनले बताए । किसान संघको अधिवेशन फागुन ७ गतेभित्र हुनै पर्ने उनले निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले किसान संघले किसानसम्म संघ र कांग्रेसको एजेण्डालाई लिएर जान जरुरी रहेको सुझाव दिए । किसान संघ किसानको सहयोगीको रुपमा रहनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, किसान महासंघका केन्द्रीय सदस्य एवम् जडिबुटी उत्पादक संघका केन्द्रीय अध्यक्ष सुमन तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।