विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित जारी आन्दोलनलाई निर्णायक चरणमा लैजाँदै नेपाल शिक्षक महासंघले देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। महासंघको राष्ट्रिय समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत २५ गतेदेखि सुरु भएको बन्द अहिले पनि यथावत् रहेको र आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको हो।
-------------- बिज्ञापन ---------------
विज्ञप्तिमा भनिएको छ, “गुणस्तरीय विद्यालय शिक्षा तथा विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक हो।”
माघ २० गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत महासंघले चैत २५ देखि देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्दै आएको छ। आन्दोलनका क्रममा कुनै पनि शैक्षिक क्रियाकलाप (जस्तै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमण) नगर्न सबै शिक्षकहरूलाई निर्देशन दिइएको छ।
महासंघले वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने चेतावनी समेत दिएको छ। विज्ञप्तिमा शिक्षकहरूलाई केन्द्राध्यक्ष वा निरीक्षकको रूपमा परीक्षा सञ्चालनमा सहभागी नहुन अपिल गरिएको छ।