मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ आज दिउँसो एक ह्विल लोडर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
-------------- बिज्ञापन ---------------
प्रहरीका अनुसार खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा।प्र.०३–००४ क ४४६३ नम्बरको ह्विल लोडर गाडीको ब्रेक फेल भएर गाडी सडकको बायाँ भित्तामा ठोक्किएर अन्दाजी ८० मिटर तल खस्दा दुर्घटना भएको हो।
ह्विल लोडरमा दुई जना सवार थिए। तीमध्ये एक जना हाम फालेर सकुशल रहेका छन् भने चालक महोत्तरी जिल्ला टुटेश्वर नगरपालिका–५ बर्दिबास घर भएका ३१ वर्षीय अशोक कुमार महत निधार र पेटमा चोट लागेर मध्यम घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी निरीक्षक राम प्रसाद यादवको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाण्डौस्थित ट्रमा सेन्टर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।