यहि कार्तिक १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकले सहुलियत सुविधा पाउने भएका छन् । कडा राेग मध्ये ८ प्रकारका कडा रोगमा एकीकृत सुविधा पाउने भएका छन ।
-------------- बिज्ञापन ---------------
जसमा मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियालगाएतका बिरामीले यो सुविधा पाउने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णय अनुसार आउँदो कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
एकीकृत सुविधा कार्यान्वयनका लागि मन्त्रालयले भर्खरै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२)’ स्वीकृत गरेको छ ।
संशोधित निर्देशिका अनुसार विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको छ ।
यो सुविधा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभएकाे छ ।