बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र नै मुलुकका निम्न वर्गदेखि उच्च वर्गसम्म सबै नागरिकका लागि सबैभन्दा उत्तम र सुन्दर राजनीतिक व्यवस्था भएको बताएका छन्।
-------------- बिज्ञापन ---------------
प्रदेश सरकारले आइतवार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र स् चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्रले गरिब जनताको छोरो पनि राष्ट्र प्रमुख बन्न सक्ने अवसर प्रदान गर्ने व्यवस्था भएको उल्लेख गर्दै, नागरिकले मन परेको दल, नेतृत्व र उम्मेदवार छान्ने स्वतन्त्रता पाउने प्रकृतिले यो व्यवस्थालाई संसारमै अद्वितीय बनाएको बताए।
उहाँका अनुसार संविधानका केही प्रावधानहरूका कारण देखिएको राजनीतिक अस्थिरता समाधान गर्न सुधार आवश्यक छ। बढ्दो भ्रष्टाचार र त्यसले निम्त्याएको निराशाका कारण भदौ २३ र २४ गतेको जेन–जी विद्रोह जस्तो घटनाको सामना गर्नुपरेको उल्लेख गर्दै उनले यस्तो परिस्थिति फेरि नदोहोरिन सर्वपक्षीय छलफल जरुरी रहेको बताए।
मुख्यमन्त्री बानियाँले जनताले अपेक्षा गरेको जस्तो परिवर्तन मुलुकमा नआएकोप्रति चिन्ता व्यक्त गर्दै दशकौँदेखि उस्तै नेतृत्व र उस्तै शैलीले शासन सञ्चालन हुँदा परिवर्तनको भावनाले स्थान नपाएको बताए।
“देश साँचिकै परिवर्तन भएको भए नेतृत्व उही भए पनि परिणाम फरक देखिन्थ्यो,” उहाँले टिप्पणी गर्नुभयो।
जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारलाई सर्वपक्षीय संवादमार्फत आगामी निर्वाचन सफल बनाउन जोड दिँदै मुख्यमन्त्री बानियाँले आगामी चुनावमा जेन–जी पुस्तालाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।