हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा विभिन्न उपलब्धिहरू सार्वजनिक गरेका छन्। मङ्गलबार हेटौंडास्थित उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा उनले १०० दिनमा हासिल भएका प्रमुख गतिविधि र प्रगति विवरण प्रस्तुत गरेका हुन्। २०८२ साउन २० गते प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा पदबहाली गरेका बानियाले भदौ २० गते ८ जना र भदौ ३० गते ५ जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए।
-------------- बिज्ञापन ---------------
कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रशासनिक पुनर्संरचनाको खाका अघि बढाइएको, स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने १० जनालाई छात्रवृत्ति उपलब्ध गराउने कार्यविधि निर्माण प्रक्रियामा रहेको, भदौ २३ र २४ गते प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्य सुरु गरिएको र प्रदेशभर इन्धनका लागि हेल्मेट अनिवार्य अभियान सञ्चालन गरिएको जानकारी दिए। मनसुन विपद जोखिम न्यूनीकरणका लागि १३ जिल्लामा पाँच–पाँच लाखका दरले ६५ लाख रुपैयाँ निकासा गरिएको र उद्धार सामग्री वितरण गरिएको उनले बताए।
योजनाबद्ध शहरी विकासका लागि तयार गरिएको बागमती प्रदेश सहरी नीति २०८२ र दिगो विकासलाई लक्षित बागमती प्रदेश जग्गा एकीकरण ऐन २०८२ को मस्यौदा अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। यसअन्तर्गत ११।५ किलोमिटर सडक कालोपत्रे, ६ किलोमिटर सडक ढलान, ५ किलोमिटर सडक ग्राभेल तथा पाँचवटा सडकमा पुल निर्माण तथा पाँचवटा सामुदायिक भवन निर्माण कार्य सम्पन्न भएको उल्लेख गरियो। सार्वजनिक खरिद खर्चलाई व्यवस्थित गर्ने कार्यविधि २०८२ को मस्यौदा तयार गरिएको र आयोजना निर्माण तथा व्यवस्थापन कार्यविधि २०८२ निर्माण प्रक्रियामा रहेको पनि मुख्यमन्त्रीले बताए। साथै १६०० योजनाको लागत अनुमान तयार गर्ने कार्य पूरा भएको जानकारी सार्वजनिक गरियो।
सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि २५ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको, चेपाङ, चिउरी र चमेरो प्रवर्द्धनका साथै स्थानीय सीप तथा प्रविधि प्रवर्द्धनका लागि कार्यविधि निर्माण अघि बढाइएको तथा ८६ वटा सहकारी संस्थाको विवरण अध्यावधिक गरिएको उनले बताए। हेटौंडा उपमहानगर, चन्द्रागिरी र मेलम्ची नगरपालिकालाई स्वास्थ्य सहर अवधारणामा अघि बढाइएको, एक जिल्ला–एक नमुना स्वास्थ्य संस्था कार्यक्रम सुरु गरिएको र ११ प्रकारका औषधि उत्पादन प्रक्रिया अगाडि बढाएको पनि उपलब्धिमा समेटिएको छ। साथै वन उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित दिगो वन व्यवस्थापन कार्यविधि २०७९ संशोधनका लागि कार्यदल गठन गरिएको जनाइएको छ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले १०० दिनलाई आधार मान्दै आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्य सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।