फेब्रुअरी २०२६ मा हुन लागेको बंगलादेशको आम निर्वाचनअघि देशको राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको एक वर्षअघिको प्रस्थानपछि अवामी लिगमाथि लगाइएको प्रतिबन्ध र शीर्ष नेताहरूको निर्वासनले देशको प्रमुख दल पूर्ण रूपमा चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छ।
-------------- बिज्ञापन ---------------
यसैबीच, प्रमुख विपक्षी दल बीएनपी पनि गम्भीर नेतृत्व संकटमा रहेको छ। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जिया गम्भीर बिरामी अवस्थामा अस्पतालमै उपचाररत छिन्, जसमा चीन र बेलायतका विशेषज्ञ चिकित्सकहरू संलग्न छन्। अध्यक्ष तारिक रहमान लामै समयदेखि लन्डनमा निर्वासनमा रहेका कारण पार्टी नेतृत्व थप कमजोर बनेको छ।
राजनीतिक रिक्तताबीच शेख हसिना पछि विद्यार्थीहरूले गठन गरेको जातीय नागरिक पार्टी (जेएनपी) ले पनि अपेक्षित जनसमर्थन पाउन नसकेको हालैका सर्वेक्षणले देखाएको छ।
मुख्य दुई दलको कमजोर उपस्थिति र नयाँ दलहरूको प्रभावहीनताबीच कट्टरपन्थी समूहहरूले भने तीव्र रूपमा राजनीतिक स्थान विस्तार गरिरहेका छन्। विशेषगरी ग्रामीण क्षेत्र र युवा मतदातामाझ उनीहरूको प्रभाव रेकर्ड स्तरमा पुगेको जनमतले देखाउँछ। उनीहरूले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रक्रियामै चुनौती खडा गरिरहेको विश्लेषकहरूको भनाइ छ।