महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित हेटाैडामा १५ दिने उद्यमशीलता क्षमता सीप विकाससम्बन्धी बुनाइ तालिम सुरु गरिएको छ ।
-------------- बिज्ञापन ---------------
सामुदायिक महिला विकास केन्द्र मकवानपुरको आयोजना तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम वैशाख २७ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिममा २५ जना महिलाको सहभागिता रहेको छ ।
तालिम कार्यक्रममा बागमती प्रदेशसभा निवर्तमान सदस्य लक्ष्मीदेवी श्रेष्ठले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो। उहाँले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्ता कार्यक्रमले महिलाको आयआर्जन वृद्धि हुनुका साथै घरपरिवारको आर्थिक व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विशेष अतिथि हेटौँडा उपमहानगरपालिका–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले तालिमलाई व्यवहारिक र उत्पादनमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमपछि सहभागीहरूले सीपलाई आयआर्जनसँग जोड्न सके मात्र कार्यक्रमको उद्देश्य पूरा हुने धारणा राख्नुभयो ।
कार्यक्रममा मकवानपुर महिला व्यवसाय संघकी अध्यक्ष कविता श्रेष्ठले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग आवश्यक रहेको बताउनुभयो । बजारको मागअनुसार गुणस्तरीय सामग्री उत्पादन गर्न सके तालिम प्रभावकारी र उपलब्धिमूलक हुने उहाकाे धारणा थियो ।
कार्यक्रमकाे सभापति निलम देवकोटा बजगाईंले गर्नुभएकाे थियो भने कार्यक्रमकाे सहजिकरण शर्मिला डंगोलले गर्नुभएकाे थियाे ।