मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित श्री निर्मल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव तथा ५०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने भएको छ।
-------------- बिज्ञापन ---------------
विद्यालयले आज हेटौंडा–२ स्थित पल्पसा प्यारासाइट सदनमा पत्रकार सम्मेलन आयोजना गरी स्वर्ण महोत्सवबारे औपचारिक जानकारी गराएको हो। पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले पाँच दिने कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
विद्यालयको प्राङ्गणमा आयोजना गरिएको स्वर्ण महोत्सवको उद्घाटन पौष ८ गते बिहान ११ बजे बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ भने समापन समारोह पौष १२ गते दिउँसो ३ बजे भौतिक पूर्वाधार विकास मन्त्री माननीय नितेशचन्द्र देवकोटाले गर्नुहुने जानकारी दिइएको छ।।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयको आधिकारिक गीत सार्वजनिक, विद्यालयको इतिहास झल्कने स्तम्भ अनावरण, निर्मल स्मारिका प्रकाशन, जिल्लास्तरीय शिक्षक नृत्य प्रतियोगिता, नगरस्तरीय विद्यार्थी हाजिरजवाफ प्रतियोगिता, नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगिता, पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, बृहत रक्तदान कार्यक्रम, बृहत स्वास्थ्य शिविर, स्काउट मार्चपास प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएका छन्।
यसैगरी, विद्यालयमा योगदान पुर्याएका पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान, विभिन्न क्षेत्रमा सफलता हासिल गरी आफ्नो क्षेत्रको नाम उजागर गर्न सफल पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।
महोत्सव अवधिभर खाना तथा व्यापार मिनी महोत्सव, विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच विविध अतिरिक्त क्रियाकलाप, साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष लोकदोहोरी तथा सांस्कृतिक प्रस्तुति सञ्चालन हुने जनाइएको छ। सांस्कृतिक कार्यक्रम तथा खाना–व्यापार मिनी महोत्सव पाँचै दिन सञ्चालन रहनेछ।
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार रुपैयाँ र सान्तना पुरस्कार १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
स्वर्ण महोत्सव सम्पन्न गर्न पूर्व विद्यार्थीहरूबाट २५ लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट ५ लाख रुपैयाँ, मनहरी गाउँपालिकाबाट २ लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी गराइएको छ। साथै विद्यालयले २० लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने र काठमाडौँ जिल्लाका पाँच वटा नगरपालिकाबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ।
कार्यक्रम सम्पन्न गर्न लगभग ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हाल यस विद्यालयमा १ हजार ३०० विद्यार्थी अध्ययनरत रहेका छन्।