सरकारले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र राजमार्ग चौडा गर्ने क्रममा घर भत्काएपछि प्रभावित बनेका घरजग्गा धनीले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। सडक डिभिजन हेटौँडाले गरेको गैरन्यायिक सडक विस्तारको विरोधमा प्रभावित घरधनी तथा अभियन्ताहरू मङ्गलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले सांस्कृतिक बाजासहित सरकारविरुद्ध प्रदर्शन गर्दै भत्काइएका घर फिर्ता र उचित मुआब्जाको माग गरेका छन्।
-------------- बिज्ञापन ---------------
गत मङ्सिर २० गते शनिबार बिहानै सडक डिभिजन हेटौँडाले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी राजमार्ग क्षेत्रभित्रका घर तथा संरचनामा डोजर चलाएको थियो। यसअघि डिभिजनले मङ्सिर ५ गते १५ दिने सूचना जारी गर्दै सडक केन्द्रबाट दायाँ–बायाँ २५–२५ गजभित्र पर्ने घरटहरा तथा संरचना हटाउन निर्देशन दिएको थियो।
स्थानीय बासिन्दाले आफूहरूको जग्गा पुर्जा आफ्नो नाममा रहेको, राज्यलाई नियमित कर तिर्दै आएको र कानुनी प्रक्रिया तथा मुआब्जा नदिई जबर्जस्ती घर भत्काइएको भन्दै आपत्ति जनाउँदै आएका छन्। सडक विस्तारको नाममा डोजर लगाएर घर भत्काउँदा आफूहरू घरबारविहीन बनेको उनीहरूको गुनासो छ।
प्रदर्शनकारीहरूले गैरन्यायिक रूपमा घर भत्काएर राज्यले नै आफूहरूलाई सुकुम्बासी बनाएको आरोप लगाउँदै जग्गाको मुआब्जा र घरटहरालगायतका संरचनाको क्षतिपूर्तिको माग गरेका छन्।
प्रदर्शनका क्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अभियन्ता विद्या श्रेष्ठ, रमेशराज वज्राचार्यलगायतले गैरन्यायिक सडक विस्तारको विरोध गर्दै भत्काइएका घर फिर्ता गर्न माग गरेका थिए।