क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस श्रद्धा, उत्साह र उल्लासका साथ मनाइरहेका छन्।
-------------- बिज्ञापन ---------------
धार्मिक मान्यताअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। यही ऐतिहासिक घटनाको स्मरणमा हरेक वर्ष डिसेम्बर २५ मा क्रिसमस दिवस मनाइँदै आएको छ।
नेपालमा भने क्रिसमस दिवस २०६३ सालपछि महोत्सवको रूपमा मनाउन थालिएको हो। दिवसका अवसरमा २०६३ देखि २०७४ सालसम्म सार्वजनिक बिदा दिइएको थियो। त्यसपछि २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो भने २०७८ सालदेखि पुनः सबैका लागि सार्वजनिक बिदा दिँदै आएको छ।
पछिल्लो समय क्रिसमस दिवसलाई सांस्कृतिक र पर्यटनसँग पनि जोडेर मनाउन थालिएको छ। मुख्य सहरका प्रमुख स्थानहरूमा क्रिसमस ‘ट्री’ तथा रंगीन बत्तीले सजावट गरिएको छ। विशेषगरी पर्यटकको बाक्लो आवागमन हुने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा क्रिसमसको विशेष रौनक देखिन्छ।