हेटौँडा । मकवानपुर होटल एसोसिएसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रा चौरको पूर्वतर्फको सडकमा आयोजित चारदिने महोत्सवको आइतबार हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभयो।
-------------- बिज्ञापन ---------------
महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले सडक खाना महोत्सवले परम्परागत खानाको संरक्षण गर्नुका साथै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय उत्पादन र पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्याउन सहयोग गर्ने उल्लेख गर्नुभयो।
मकवानपुर होटल एसोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीले अङ्ग्रेजी नयाँ वर्षको स्वागतसँगै “सडकमै जाउँ, सडकमै खाऊँ, सडकमै रमाउँ” भन्ने नाराका साथ सडक खाना महोत्सवको १२ औँ सडक खाना महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न समुदायका परम्परागत खानाका परिकार, रैथाने बालीबाट तयार गरिएका खाद्य सामग्रीको प्रदर्शनी तथा बिक्री भइरहेको छ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति सहित विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य दिनेश चुके, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष केदार न्यौपानेलगायतले पर्यटन प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वित तथा ठोस नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।