मकवानपुरको राक्सिराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको १९औँ हिउँदे अधिवेशन उद्घाटनसँगै उक्त भवनको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दोस्रो जनआन्दोलनपछि प्राप्त संघीय व्यवस्थाले राक्सिराङजस्ता दुर्गम गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। उनले संघीयताका कारण स्थानीय तहमा अधिकार, स्रोत र सेवा प्रवाह सुदृढ हुँदै गएको बताए।
-------------- बिज्ञापन ---------------
मुख्यमन्त्री बानियाँले राक्सिराङ गाउँपालिका भित्र उत्पादन हुने कृषि उपज तथा घरेलु उत्पादनको प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले आवश्यक नीतिगत तथा व्यावहारिक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नवनिर्मित भवनबाट प्रदान गरिने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए।