हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमसहित मनाउन सुरु गरेको छ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसरमा बिहीबार र शुक्रबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा कूल ९५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ। शिविरको पहिलो दिन मात्रै ५२१ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो।
-------------- बिज्ञापन ---------------
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णका अनुसार आँखा परीक्षणका क्रममा जटिल समस्या देखिएका विद्यार्थीहरूको थप उपचारका लागि विद्यालयले आवश्यक सहजीकरण गर्नेछ। शिविरमा ईसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए।
आँखा परीक्षणका क्रममा केही विद्यार्थीहरूमा दृष्टिसम्बन्धी समस्या देखिएको विद्यालयले जानकारी दिएको छ। हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार पनि आँखा शिविर सञ्चालन गरिने भएको छ। साथै, शनिबार नै विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क दन्त शिविर समेत आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म शैक्षिक, सामाजिक तथा सांस्कृतिक विविध कार्यक्रमहरू आयोजना गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ।
स्वर्ण महोत्सवको अवसरमा हेटौँडा–२ स्थित सिद्धार्थ टोल विकास संस्था तथा सिद्धार्थ माध्यमिक विद्यालयको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरूको समूहले संयुक्त रूपमा एक लाख ६३ हजार ९७१ रुपैयाँ सहयोग प्रदान गरेका छन्।