नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको ११औं वार्षिक साधारण सभा र विषादी व्यवसायी संघ नेपाल जिल्ला समन्वय समिति मकवानपुरको दोस्रो वार्षिक साधारण सभा हेटौंडामा सम्पन्न भएको छ । शनिवार नेपाल बीउ व्यवसायी संघ मकवानपुर जिल्लाका अध्यक्ष कृष्णकाजी प्रधानको सभाध्यक्षतामा र कृषि विकास कार्यालय भरतपुरका प्रमुख झलकनाथ कंडेलको प्रमुख आतिथ्यतामा यो कार्यक्रम सम्पन्न भएको हो ।
-------------- बिज्ञापन ---------------
साधारण सभामा शुभकामना व्यक्त गर्दै प्रमुख कंडेलले सिँचाई, माटो र मलको अवस्था यथास्थितिमा रहेको भएपनि बीउको गुणस्तर राम्रो भए १५ देखि २० प्रतिशत उत्पादनमा वृद्धि हुनसक्ने कुरा गरेका थिए । उनले अनुसन्धानको आधारमा यो तथ्य प्रस्तुत गर्दै कृषिको समृद्धिका लागि बीउ र विषादीको महत्वलाई उल्लेख गर्दै ७५ प्रतिशत योगदान व्यवसायीहरूको हुने बताएका थिए । प्रमुख कंडेलले बीउ व्यवसायी अनुमतिपत्रको नविकरणको विषयमा ऐनमा भएको प्रावधानमा सहजीकरण गर्ने विषयमा पनि जानकारी दिएका थिए। उनले बीउ व्यवसायी र विषादी व्यवसायीहरूले उठाएका मागहरूको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साधारण सभामा नेपाल बीउ व्यवसायी संघ मकवानपुर जिल्लाका अध्यक्ष कृष्णकाजी प्रधानले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै, विषादी व्यवसायी संघ मकवानपुरका सचिव नेत्र प्रसाद ढुंगेल र नेपाल बीउ व्यवसायी संघ मकवानपुरका सचिव फेन्चु रुम्बाले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल बीउ व्यवसायी संघका महासचिव तथा विषादी व्यवसायी संघका पूर्व सचिव विश्वराज बानियाँ, नेपाल बीउ व्यवसायी संघका केन्द्रीय सदस्य रमेश अर्याल, नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष हरिशरण अर्याल लगायतको आतिथ्यता थियो ।