उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई पार्टीको अध्यक्षमा नियुक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँग प्रस्तावित एकता प्रक्रिया भाँडिएपछि पार्टीले नयाँ नेतृत्व चयन गरेको हो।
-------------- बिज्ञापन ---------------
पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार घिसिङलाई अध्यक्षको जिम्मेवारी दिइएको हो। यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा उज्यालो नेपाल पार्टीको अध्यक्षमा अनुप उपाध्यायको नाम उल्लेख रहेको थियो।
रास्वपाका अनुसार पुस १४ गते घिसिङलाई उपसभापति बनाउने सहमति भए पनि त्यसपछि उहाँले सहमति विपरीत थप माग राखेपछि एकता प्रक्रिया रोकिएको दाबी गरिएको छ। सो विषयलाई लिएर घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच हिजो र आज निरन्तर छलफल भएको बताइएको छ।
एकता प्रयास असफल भएपछि उज्यालो नेपाल पार्टीले आन्तरिक संगठन सुदृढ गर्दै स्वतन्त्र राजनीतिक यात्रालाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ। नयाँ नेतृत्व चयनसँगै पार्टीले वैकल्पिक राजनीतिक धारलाई थप सशक्त बनाउने लक्ष्य लिएको प्रवक्ता थापाले जानकारी दिनुभयो।